गिरिजाप्रसाद कोइराला ‘मुहार चित्र प्रतियोगिता’

 

दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको मुहार चित्र प्रतियोगिता हुने भएको छ । कोइरालाको स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला संस्कृति विभागले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगीतामा नेपाललगायत विदेशमा रहेका कलाकारहरुले पनि भाग लिन पाउने फाउण्डेशनका संयोजक श्याम सुन्दर यादवले जानकारी दिएका छन् । “नेपाली कलाकारहरुका लागि हामीले आह्वान जारी गरिसकेका छौं । विदेशी कलाकारहरुका लागि ब्यानर बनाएर आह्वान जारी गर्दैछौं,” उनले भनेका छन् ।

 

कलाकारले वाटर कलर, एक्रेलिकलगायत जुन माध्यममा पनि मुहार चित्र कोर्न स्वतन्त्रता आयोजकले दिएको छ । तर, चित्रकलाको साइज भने १८/२४ र २४/३६ ईन्च मध्य कुनै एक हुनुपर्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुकहरुले चैत १५ गतेसम्म ठमेलस्थित मिथिला ये आर्ट ग्यालरीलाई बुझाउनु पर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट पाँच मुहार चित्रलाई विशेष सम्मान पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिने छ ।

 

प्रथम हुने कलाकारलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । साथै उक्त कलाकारको एकल चित्रकला प्रदर्शनी गरिने । छनोटमा परेका र उत्कृष्ट भएका चित्रहरु पनि मिथिला ये आर्ट ग्यालरीमा नै प्रदर्शनीमा राखिने छ ।

प्रतियोगितामा पाँच जनाको निर्णायक टिमले क्रियटिभीटीलाई विशेष महत्व दिइने पनि संयोजक यादवले बताएका छन् ।
प्रतियोगी कलाकारका अलावा अतिथि कलाकारहरुलाई पनि सहभागी गराउने तयारी गरिरहेको संयोजक यादवले जानकारी दिए । जसमा नेपालबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, भारतबाट वरिष्ठ कलाकार विकास कुलकर्मीलगायत अन्य देशका कलाकारहरुसँग सहभागि भइदिन छलफल  भैरहेको पनि उनले बताएका छन् ।

प्रतियोगितामा छानिएका उत्कृष्ट चित्रकलाहरु वैशाख १ गते प्रदर्शनीम राखिने छन् ।

 

Scroll to Top