कालापानीबारे के बोलेकी थिइन् सुजाता कोइरालाले ?

२६ वैशाख, २०७७ मा भारतले लिपुलेकमा चीनसितको नाका जोड्ने सडकको उद्घाटन गरेको समाचार नेपाली सञ्चार माध्यममा प्रकाशित भएपछि सामाजिक सञ्जालमा उक्त घटनालाई लिएर टीकाटिप्पणी र विरोध भइरहको छ । राष्ट्रिय अखण्डतासम्बन्धी संवेदनशील सवालमा सर्वसाधारण र सार्वजनिक व्यक्तिले आफ्ना विचार खासगरी सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । तर यस्तो बेला भ्रामक र गलत सूचनाहरु पनि प्रवाह हुने गरेको छ । अपूरो तथ्यका साथ हालैको जस्तो गरी भाइरल बनाइएको एउटा पुरानो विराेध प्रदर्शनको भिडियोमाथि हामीले हालैमात्र तथ्य जाँच गरेका थियौं।

सामाजिक सञ्जाल फेसबुकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको भिडियो ३१ वैशाखमा व्यापक रुपमा फैलिएको छ । “कालापानी को भू-भाग भारतको हो, भारतलाई दिनुपर्छ भन्छ त सुजाता कोइराला” भन्ने स्टाटस सहित उक्त भिडियो हजारौं पटक शेयर गरिएको छ । विभिन्न पेज र व्यक्तिहरुले उक्त भिडियो शेयर गरेका छन् । सुजाता कोइरालाका भनाइ भएका  दुईवटा भिडियो यस्तै दाबीका साथ शेयर भइरहेका छन् । एउटा भिडियो १६ सेकेन्डको छ भने अर्को भिडियो ५२ सेकेन्डको छ।

सन्तोष कङ्लिबा लिम्बुको फेसबूकमा ३१ वैशाखमा पोष्ट गरिएको १६ सेकेन्ड लामाे भिडियो २६०० पटक शेयर गरिएको छ भने १२२००० पटक हेरिएको छ ।  यसैगरी ‘गित भट नानु’ नामक फेसबूक पेजले उक्त भिडियो पटक पटक गरी २ घण्टा लाइभ गरेको थियो । साे भिडियो ६७००० पटक हेरिएको छ भने ४५६ पटक शेयर गरिएको छ । सन्तोष लिम्बु नामकै अर्काे फेसबूक पेजमा साे भिडियाे ७२००० पटक हेरिएको छ भने ७३१ पटक शेयर भएको छ । जेठ ५ गते ‘नेपाल न्यूज २४x७ अप्डेटेड’ नामक फेसबूक पेजमा पोष्ट गरिएको उक्त भिडियो ३६ पटक शेयर भइसकेको छ । यस सँगसँगै ५२ सेकेन्डको भिडियो पनि कैयौं पटक शेयर गरिएको छ ।

सोही भिडियोका अरु क्लिपहरु टिकटक नामक भिडियो शेयर गर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि शेयर गरेका छन् ।

दुवै भिडियो ‘कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ’ भन्ने सुजाता कोइरालाको भनाइबाट शुरु गरिएको छ । दुवै भिडियोको माथिल्लो भागमा सेतोपाटीको लोगो देखिन्छ।

तथ्य जाँच:

सुजाता कोइरालाले गत २९ वैशाखमा स‌ंघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै यही शीर्षक राखी विभिन्न वेबसाइटमा भाइरल बनाइएको समाचारको खण्डन गरेकी थिइन् । पत्रकार ॠषि धमलाले सञ्चालन गरेको रिपोर्टर्स नेपाल अनलाइनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्छ : सुजाता’ शीर्षकमा २० पुस, २०७६ मा प्रकाशित समाचारलाई ‘कालापानीको भूभाग भारतको हो, भारतलाई दिनु पर्छ: सुजाता कोइराला’ शीर्षक राखी केही अनलाइनले गलत समाचार छापेको भन्दै उनले उक्त बैठकमा खण्डन गरेकी थिइन् । उक्त बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले बोलेको ५ मिनेट ४४ सेकेन्डको भिडियो सेतोपाटीले २९ वैशाखमा प्रकाशित गरेको थियो।

सेतोपाटीमा प्रकाशित ‘भारतसँगको सीमा वार्ताको नेतृत्व मलाई दिनुहोस्: सुजाता कोइराला’ शीर्षक उक्त भिडियो यो भनाइबाट शुरु भएको छ, “अहिले भर्खर मैले एउटा न्यूज पढें । मेरै बारेमा है । अहिले भर्खर यहाँ आयो । यो ६ महीना पहिले आएको थियो । अहिले फेरि यो शुरु हुन थालेको छ । त्यसको हेडलाइन के छ भनेदेखि कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ । यस्तो कुरा मैले कहिल्यै पनि … मैले गर्न सक्छु ? यस्तो कुरा आफ्नो देशको लागि, आफ्नो राष्ट्रको लागि, राष्ट्रको हितमा मैले जहिले पनि ‘स्ट्यान्ड’ लिएको कारणले म पछि परेको छु राजनीतिमा । कुरा बुझ्नुपर्‍यो नि सबैले ।” उक्त बैठकमा उनले त्यसबेला आफूले नेपालकाे बाटाे बनाउने क्षमता नभएकाले ५-१० वर्षका लागि लिजमा दिऊँ भनेकाे बेचिदिऊँ नभनेकाे बताएकी छन्।

दुवै भिडियोमा बीचको भनाइमात्र राखी पूरा भनाइ नराखी काँटछाँट गरिएको छ । यसबाट कोइरालाको अभिव्यक्तिलाई गलत अर्थ लाग्ने गरी भिडियो बनाई पोष्ट गरिएको प्रष्ट हुन्छ।

सेतोपाटीमा प्रकाशित भिडियोको शुरुको १० सेकेन्ड काटेर “कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ” भन्ने भनाइबाट भिडियो शुरु गरिएको छ । त्यसैगरी बाँकी अंशमा पनि दुवै भिडियोमा धेरै भाग काँटछाँट गरी जोडेर उनले त्यस्तै बाेलेको भन्ने देखिने गरी काटिएकाे छ।

त्यसैले सेतोपाटीको भिडियोलाई केही काँटछाँट गरी जोडेर बेग्लै अर्थ आउने गरी सुजाता कोइरालाले नै बोलेको भनी तोडमराेड गरी भिडियोलाई भाइरल बनाइएको हाम्रो ठहर छ ।

Scroll to Top