काठमाडौँमा ‘वर्ल्ड हेरिटेज आर्ट फेस्टिवल’ आयोजना, ७ देशका कलाकार सहभागी

 

 

काठमाडौँ – काठमाडौँमा ‘वर्ल्ड हेरिटेज आर्ट फेस्टिवल–२३’ आयोजना गरिएको छ । द आर्ट पिभोट इण्डिया र जीपी कोइराला फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौँको ठमेलस्थित होटेल आर्टमा उक्त फेस्टिवल आयोजना गरिएको हो । जेठ ८ देखि १४ गतेसम्म चल्ने उक्त फेस्टिबलमा ११ देशका पेन्टिङ प्रदर्शनीमा राखिएको छ । जहाँ नेपालसहित ७ देशका कलाकारले सहभागिता जनाइरहेका छन् । जसअनुसार नेपाललगायत अष्ट्रिया, टर्की, फिलिपिन्स, थाइल्याण्ड, युएई, भारतका २६ जना कलाकार फेस्टिवलमा सहभागी छन् । सहभागी कलाकारले काठमाडौँमा अवलोकन भ्रमण गर्दै यहाँको कला, संस्कृति र शैली झल्किने गरी लाइभ पेन्टिङ गरिरहेका छन् । बुधबारदेखि सुरु भएको उक्त लाइभ पेन्टिङ शनिबार समापन हुने बताइएको छ ।

सोही अनुसार आज सहभागी कलाकारहरुलाई सम्मान पत्र प्रदान गरिएको छ । पूर्वउपप्रधानमन्त्री एवम् फाउण्डेसनककी अध्यक्ष सुजाता कोइरालाले सम्मानपत्र प्रदान गरेकी हुन् । समारोहमा आर्ट पिभोट इण्डियाका निर्देशक राजेश यादव लागायतको समेत सहभागिता रहेको थियो ।

सम्मान पत्र वितरण समारोहमा बोल्दै फाउण्डेसनकी अध्यक्ष कोइरालाले नेपाल कला, संस्कृतिको धनी देश भएकाले फाउण्डेसनमार्फत देशको पहिचान र परिचयलाई विश्वभरि पुर्याउन आफू लागीपरेको उल्लेख गरिन् । आफू कलाको पारखी रहेको जनाउँदै उनले कला, संस्कृतिको विकास र प्रवर्द्धनको लागि राज्य प्रतिवद्ध भएर लाग्नुपर्ने समेत बताइन् ।

लाइभ पेन्टिङबाट कलाकारलाई चिनाउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फाउण्डेसनका सल्लाहकार एवम् नेपाली काँग्रेसका युवा नेता भरत सापकोटाले बताए । उनले फाउण्डेसनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने उल्लेख गरे ।

जीपीकोइराला फाउन्डेसनले विगत ४ वर्षदेखि विभिन्न देशका कलाकारहरुलाई नेपालमा ल्याइ प्रदर्शनी गराउँदै आइरहेको छ । साथै कलाकारको स्तर वृद्धिका लागि विभिन्न देशमा समेत कला प्रदर्शनीका लागि पठाउँदै आएको छ । सोही अनुसार फाउण्डेसनले नेपाली कलाकारलाई केही समयअघि बंगलादेश पुर्याएको थियो भने सेप्टेम्बरमा नेपाली कलाकार क्षमता अभिवृद्धिका लागि कोरिया जाँदैछन् ।

यस्तै फाउण्डेसनले स्थानीय कलाकार र विदेशी कलाकारसँगै राखेर कला र पेटिङका अनुभव समेत साटासाट गराउँदै आएको फाउण्डेसनका आर्ट एण्ड कल्चर विभागका निर्देशक सुन्दर यादवले बताए । सामाजिक रुपमा बहुआयामिक काम गर्दै फाउण्डेसन स्थापित बनिरहेको छ ।

Scroll to Top