सहमति, सहकार्य र एकताको मूलमन्त्रमा सबैलाई समेटेर जसरी उनले पछिल्लो जनआन्दोलन सफल बनाए, त्यसैको गोरेटोमा केही समय राजनीतिक दल र सबै अगाडि बढे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

मजदुर र जीपी कोइराला

 

अजय कुमार राई

जननायक गिरिजाप्रसाद कोइरालाले भौतिक शरीर छाडेर जानुभएको ११ वर्ष भइसकेछ। भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा १९८१ सालमा जन्मिएका कोइरालाले आफ्नो जीवनभर राजनीतिक उतार चढाव व्यहोरे र जीवनको उत्तरार्धमा लोकप्रिय राजनेता तथा जननायकको पगरी लिएर ०६६ चैत ०७ गते सबै देशवासीलाई रुवाएर बिदा भए। उनले राजनीतिक जीवनको प्रारम्भ नै मजदुर नेताका रूपमा प्रादुर्भाव गरे। उनको बिदाइमा तुलनात्मक रूपमा अभिभावक गुमाएकामा मजदुरवर्ग बढी भावविह्वल भए। उनले नै मजदुर आन्दोलनको प्रारम्भ गरे र मजदुरहरूलाई आफ्नो अधिकारका लागि संगठित हुनुपर्छ भनेर सिकाए। तत्कालीन समयमा विराटनगरको मिल्स एरिया जो नेपाल– भारतको सीमामा पर्छ, त्यहाँ रहेका कारखानामा मजदुरलाई आफ्नो हक अधिकारका लागि संगठित हुन सिकाए। त्यही मजदुर आन्दोलनको जगमा नेपालको प्रजातान्त्रिक आन्दोलन सुरु भएको कहीँ छिपेको छैन।

२००३ सालमा विराटनगरको मिल्स एरियामा मजदुरहरू आन्दोलित हुँदै गर्दा २००३ साल फागुन २१ गते नेपाल मिल्स मजदुर संघको संस्थापक अध्यक्ष रही मजदुरलाई संगठित गरे र मजदुर हितका निम्ति मजदुर आन्दोलन अगाडि बढाए, फलस्वरूप ००७ सालमा नेपालीले प्रजातन्त्र देख्न पाए। ३० वर्षे लामो पञ्चायती शासन व्यवस्थाको बिदाइ र मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपश्चात् ०४७ साल असार २१ गते सो मिल्स मजदुर संघको रूपान्तरित रूपमा नेपाल ट्रेड युनियन कांग्रेस लक्ष्मण बस्नेतको अध्यक्षतामा पुनःस्थापित भयो र देशभर मजदुर हकहितका लागि आजपर्यन्त ट्रेड युनियन कांग्रेस क्रियाशील छ। उनले ०१५ सालमा मजदुरको तत्कालीन अन्तर्राष्ट्रिय संगठन आईसीएफटीयू अर्थात् आजको आईटीयूसीसँग सम्बन्ध जोड्दै मजदुरको अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मजदुरको प्रतिनिधित्वसमेत गरे र नेपाली मजदुरलाई विश्वव्यापी रूपमा चिनाए। आफू त्यस आईसीएफटीयूको सम्मेलनमा सहभागी हुँदाका कुरा उनी जीवित रहँदा हामीलाई पनि सुनाउने गर्थे। नेपाल मिल्स मजदुर संघका तर्फबाट मिल्स एरियामा रहेको कारखानाका व्यवस्थापकसँग सामूहिक सौदाबाजी गरेका र व्यवस्थापकबाट मजदुरलाई गरिएको तल्लो स्तरको व्यवहारसमेत हामी सबैलाई उनले सुनाउने गर्थे। त्यस समयको मजदुर आन्दोलनको जगमा  टेकेर राणाशासन फालिएर ००७ सालमा प्रजातन्त्र आएको कुरा हामी अहिलेसम्म इतिहासका पानामा पढ्ने गर्छौँ।

०४७ सालमा नेपालमा दोस्रो पटक प्रजातन्त्र आएपछि आमनिर्वाचनबाट ०४८ सालमा जनताको प्रधानमन्त्री भएपश्चात् आफूले सुरु गरेको मजदुर आन्दोलनलाई उनले संस्थागत रूपमा स्थापित गराए। सो समयको प्रधानमन्त्रीत्वकालमा उनले ट्रेड युनियन ऐन ०४९ र नियमावली त्यस्तै गरेर श्रम ऐन ०४८ र नियमावली ०४९ ल्याइदिएर नेपालको मजदुर आन्दोलनलाई संस्थागत गराए। त्यो ट्रेड युनियन ऐनको फलस्वरूप आज देशभर मजदुर विभिन्न ट्रेड युनियनका नाममा संगठित भएका छन् र श्रम ऐन र नियमावलीमार्फत व्यवस्थापकसँग सामूहिक सौदाबाजी गर्ने भएका छन्। उनकै प्रधानमन्त्रीकालमा चिया बगानमा काम गर्ने श्रमिकका लागि चिया बगान कामदार नियमावली – ०५० ल्याए। ०६२÷६३ को जनआन्दोलनपश्चात् ०६३ चैत १८ गते मुलुकको बागडोर सम्हालेका उनले त्यसै सालबाट मजदुर दिवसका दिन नेपालमा सार्वजनिक बिदा दिने प्रचलन प्रारम्भ गरे। उनले संस्थागत रूपमा मुलुकमा मजदुरलाई संगठित हुने अवसर प्रदान गरेपछि मजदुर तथा श्रमिक जोडिएका धेरै ऐन कानुन निर्माण भए। जस्तै ः ०५१ सालमा अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसमा सार्वजनिक बिदा, आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका– ०५२ पारित भयो, श्रम अदालत ०५३ सालमा स्थापित भयो भने त्यस्तै गरेर ०५३ साल कात्तिक २६ गते संगठन गर्ने स्वतन्त्रता र सामूहिक सौदाबाजीअन्तर्गत आईएलओको महासन्धि ९८ समेत संसद्बाट पास भयो।

मूलतः नेपालको राजनीतिक परिदृश्यमा अहिलेसम्म नेपालले जुन उचाइको राजनेता प्राप्त गरेको थियो त्यो मजदुर पृष्ठभूमिको उनै थिए। हिजो मजदुर आन्दोलनमा जोडिएको हुनाले उनले मजदुरको समस्या गहिराइबाट बुझेका थिए। ०६२÷६३ को जनआन्दोलनका क्रममा ०६२ चैतको तेस्रो सातामा काठमाडौंमा मजदुरलाई बोलाएर आन्दोलन सफल बनाउन जुन ढाडस दिएका थिए र उनीप्रतिको विश्वासको कारण मजदुर श्रमिकहरू आफ्नो करियर तथा ज्यानको परवाह नगरी आन्दोलनमा होमिएका थिए। मजदुरका अन्तर्राष्ट्रिय मजदुर संगठनका नेता नेपाल आउँदा उनीहरूसँगको भेट र कार्यक्रम उनले आफू प्रधानमन्त्री रहँदा प्राथमिकतामा राख्ने गरेको अहिले पनि नेपाली मजदुर आन्दोलनका नेता सम्झन्छन्। उनी प्रधानमन्त्री रहँदा वा नरहँदा पनि मजदुरले आफूलाई संरक्षित महसुस गर्थे जुन अभाव आज नेपाली मजदुर आन्दोलनमा खड्किएको छ। ट्रेड युनियन कांग्रेस तथा त्यससँग आबद्ध संस्थाका समस्यालाई ध्यानपूर्वक सुन्ने र समस्या समाधानमा लागिपर्थे, निःसन्देह पनि आज नेपालको मजदुर आन्दोलनले त्यो अभाव व्यहोर्नुपरेको छ। उनले स्थापना गरेको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा आज चार लाखभन्दा बढी क्रियाशील सदस्य संगठित छन् भने देशभर भौतिक सम्पत्ति जोडिएको छ। मजदुरले उनी आफू प्रधानमन्त्री रहँदा ल्याइदिएको ऐन, कानुनबमोजिम तल्लो तहमा समेत आफ्ना अधिकारका लागि व्यवस्थापनसँग संवाद, छलफल गरेर समस्या समाधान गर्न सफल भएका छन्। त्यो सबै उनकै देन हो। अहिले पनि मजदुरको अन्तर्राष्ट्रिय मञ्चको बैठकमा पुराना ट्रेड युनियन नेताले उनको कुरा गर्ने गरेको हामी देख्छौँ।

जीवनको अन्तिम समयमा समेत मुलुक तथा प्रजातन्त्रका खातिर कसैले नपत्याएको संसद् पुनःस्थापनाको मुद्दालाई लिएर उनले मुलुक जनतालाई लोकतान्त्रिक गणतन्त्र दिएर गए। उनैको सफल नेतृत्वका कारण सफल भएको ०६२/६३ को जनआन्दोलनपश्चात् मुलुकले गणतान्त्रिक लोकतन्त्र प्राप्त गरेको कहीँ छिपेको छैन। जीवनको अन्तिम समयमा उनी मात्र कांग्रेसका नेता भएनन् सबै दलका पत्यारिला र भरपर्दा नेता भए र मुलुकलाई नयाँ राजनीतिक पद्धतिमा सुरक्षितसाथ अवतरण गराए। आफू प्रधानमन्त्री रहँदै गर्दा र आफ्नो दलले चुनावमा पराजित व्यहोर्ने थाहा हुँदाहुँदै पनि मुलुकमा नयाँ राजनीतिक पद्धति स्थापित गर्न प्रथम संविधानसभाको चुनाव गराए। १२ वर्षे जनयुद्धबाट आएका प्रचण्डले समेत मैले प्रथम संविधानसभा चुनावपश्चात् गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नचाहनु मेरो राजनीतिक भूल थियो भनेर अहिले सार्वजनिक रूपमा जो भन्न थालेका छन्, त्यस कुराले पनि उनको राजनीतिक महत्व दर्शाउँछ। उनले प्रजातन्त्रका खातिर न राजा न त कसैसँग जीवनभर सम्झौता गरे, जीवनभर मुलुक र जनतालाई बोल्ने स्वतन्त्रता र संगठित हुने अवसर प्रदान गर भनेर लडिरहे। अरूले सम्झे पनि नसम्झे पनि मजदुरले उनलाई वर्षको एक पटक सम्झनै पर्छ।

०६६ चैत ७ गते उनले देहत्याग गरेको सन्दर्भमा उनले स्थापित गरेको संस्था नेपाल ट्रेड युनियन कांग्रेसले त वार्षिक क्यालेन्डरमुताविक देशभर विविध कार्यक्रम गरेर स्मृति सभा मनाउने गरेकोे छ भने उनको सम्झनामा उनकी छोरी तथा कांग्रेस नेत्री सुजाता कोइरालाले समेत जीपी कोइराला फाउन्डेसनको नाममा देशभर  स्मृति सभा गरेर उनलाई जीवन्त राख्ने प्रयत्न गरेकी छन्। अहिले दलबीचको वैमनश्यता, राजनीतिक नेताबीचको कटुता र देशको राजनीतिक तरलतालाई हेर्दै गर्दा उनको सहमति, सहकार्य र एकताको मूलमन्त्रमा सबैलाई समेटेर जसरी उनले पछिल्लो जनआन्दोलन सफल बनाए, त्यसैको गोरेटोमा केही समय नेपालको राजनीतिक दल र सबै अगाडि बढे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

For more information please visit the link below

annapurnapost.com

Scroll to Top