‘रबर खेतीका पिता’ झापामा सम्मानित

झापा, ७ फागुन । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘‘रबर खेतीका पिता’’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई आज झापामा सम्मान गरेको छ ।

पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न विहीवार आयोजित कार्यक्रममा उनलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिन् ।

तीन दशक अघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकालेका थिए । त्यही आधारमा झापा र गोरखा जिल्ला पहिलोपल्ट २०४८ सालमा रबर खेती सुरु गरिएको थियो ।

हाल झापा, मोरङ र सुनसरी जिल्लामा दशौं हजार हेक्टर भूमिमा रबर खेती गरिएको छ । झापामा रबर खेती सुरु गर्दा अनुसन्धाता भण्डारीले किसानलाई यसको बारेमा प्राविधिक शीप सिकाएका थिए ।

फाउन्डेसनले आज झापाको बुद्धशान्ति गाउँपािलकालाई रबर ग्राम घोषणा गर्दै रबर खेतीको विकासमा सघाउने योजना अघि सारेको छ ।

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले झापामा रबर खेतीको सम्भावना देखेर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पहिलोपल्ट रबर विकास बोर्ड गठन गरेको बताइन् । स्थानीय किसानहरुलाई रबर खेतीमा आकर्षित गरेर आर्थिकस्तर उकास्न फाउन्डेसनले कार्यक्रम ल्याएको उनले बताइन् ।

Scroll to Top