जीपी कोईराला स्मृतिमा बुटवलमा मास्क वितरण,काेराेनाबाट उच्च सावधानी अपनाउन भण्डारीको आग्रह

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्ध जनचेतना जगाउनकालागि गिरिजाप्रसाद कोईराला फाउण्डेशनले मास्क वितरण गरेको छ ।

गिरिजाप्रसाद कोईराला फाउण्डेशन (फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्ट) जिल्ला कार्यसमिति रुपन्देहीले बुटवलमा कोरोना भाईरस (कोडिभ–१९) संक्रमण भित्रिन नदिनकालागि जनचेतना जगाउने उद्देश्यले मास्क वितरण गरिएको संस्थाका रुपन्देही जिल्ला अध्यक्ष चिरञ्जिवी पौडेलले जानकारी गराउनु भयो ।

स्वर्गीय गिरिजाप्रसाद कोईरालाको १० औं स्मृती दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा १ हजार पिस मास्क वितरण गरिएको थियो भने सेनिटाईजर (किटाणु नष्ट गर्ने केमिकल) प्रयोग गर्न समेत सिकाईएको थियो ।

त्यस अवसरमा मास्क वितरण गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाईरस अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएकाले यसबाट बँच्नकालागि सचेत रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले पार्टीका गतिबिधि समेत सबै स्थगित भएकाले सबैलाई सुरक्षित रुपमा घरभित्र रहन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका प्रदेश ५ का अध्यक्ष डा. गोबिन्द पोखरेल, महासचिव खेलराज पाण्डे, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण कांग्रेस नेताहरु चित्र केसी, वालकुमारी भण्डारी लगायतले बोल्नु भएको थियो । संस्थाले कोरोना विरुद्धका अन्य रचनात्मक कार्यक्रमहरु समेत गर्ने जनाएको छ ।

Scroll to Top