गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा कांग्रेस विराटनगर महानगरद्धारा रक्तदान

विराटनगर १८ असार ।
नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ र यसका कारण उत्पन्न समस्याका बीच पनि रगतको अभाव कम हुन नदिन कार्यक्रम आयोजना गरिएको बताइएको छ । बिहीबार भएको रक्तदान कार्यक्रममा ५० पाउण्ड रगत संकलन भएको कांग्रेस विराटनगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपानेले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गरेका थिए । राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताए । प्रजातन्त्र ,लोकतन्त्र देशको मेरुदण्ड भएको भन्दै बरालले बहुमतको सरकारले यसको खिल्ली उडाउने काम गरिरहेको बताए ।
यस्तै युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले राजनैतिक चेतना र स्पष्ट खाका बोकेर काम गर्ने गिरिजाप्रसाद कोइरालाका योगदानहरुलाई स्मरण गरे । तत्कालिन माओवादी द्वन्द्व समाधान,दरबारिया रबैया र जनताको चाहनालाई कोइरालाले नजिकबाट अध्ययन गरेर समाधान गरेको बताए । प्राप्त उपलब्धिको रक्षाका लागि युवा पुस्ताको भूमिका आबश्यक रहेको समेत बताए । कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु ,सचिव नागेश कोइराला लगायतको सहभागिता रहेको थियो ।

 

 

Scroll to Top